मैले देखेको भानुभक्त-दिपक आचार्य कृषि संयोजक

भानुभक्त माध्यमिक विद्यालयले आधा शताब्दीको यात्रालाई स्वर्ण महोत्सवका रूपमा मनाउँदै गर्दा, हामी सबैका लागि यो क्षण एउटा गौरव, कृतज्ञता र आत्मविश्लेषणको विशेष अवधी बनेको छ।यस महोत्सवले हामीलाई बिगतको उपलब्धि सम्झाउँदै, वर्तमानको जिम्मेवारीलाई उत्कृष्ट बनाउँदै र भविष्यका लक्ष्यहरूतर्फ दृढ भएर अघि बढ्न प्रेरित गर्छ।आज भानुभक्त माध्यमिक विद्यालय स्वर्ण महोत्सवको ऐतिहासिक क्षणमा उभिएको बेला, यस संस्थाले विगत पाँच दशकमा बोकेको जिम्मेवारी, योगदान र प्राप्तीहरू एकैपटक आँखामुनि झल्झली आउँछन्।

यही गौरवमय यात्राको एक सानो तर अर्थपूर्ण साक्षीका रूपमा म स्वयं पनि आठ वर्षदेखि यस विद्यालयमा प्रशिक्षकको भूमिकामा बाँधिएको छु।२०७४ सालमा पहिलोपटक भानुभक्त माध्यमिक विद्यालयको प्राङ्गणमा प्रवेश गर्दा, पहाडी हावाको निर्मल स्पर्शसँगै मैले एउटा विशिष्ट शैक्षिक वातावरणको सुगन्ध महसुस गरेको थिएँ। क्रमशः बुझ्दै जाँदा, यो विद्यालय केवल शैक्षिक संस्था मात्र नभई ज्ञान, संस्कार र मानवीय मूल्यहरूको मौन तर अत्यन्त दृढ दीपस्तम्भ हो भन्ने अनुभूति स्पष्ट हुँदै गयो।

भानुभक्तका विद्यार्थीहरूमा देखिने अनुशासन, विनम्रता र सिकाइप्रतिको समर्पणले सदैव मलाई प्रभावित पारिरहन्छ। बिहानको चिसो कुहिरो चिर्दै उकालो–ओरालो पार गरेर विद्यालय आइपुग्ने ती बिद्यार्थीका आँखाहरूमा देखिने जिज्ञासा र आशा नै भानुभक्तको वास्तविक पहिचान हो भन्ने मैले महसुस गरेको छु । यही दृढता भानुभक्तको आत्मा बनेर प्रत्येक दिन सक्रिय रहिरहन्छ।

शिक्षक जीवनका यी वर्षहरूमा भानुभक्तले मलाई धैर्यका सूक्ष्म अर्थ, सेवाभाव, उदारता र ज्ञान–प्रदानको पवित्र दायित्व सिकायो जस्ले मेरो जीवनलाई अझ उत्कृष्ट बनाएको छ। यहाँ अध्यापन गराउनु मेरो कर्तव्य मात्र होइन; भविष्य निर्माणको यात्रामा साथ दिने निरन्तर प्रेरणादायी प्रक्रिया हो भन्ने अनुभूति भानुभक्तले मेरो प्रत्येक दिनमा रोपिदिएको छ।

विद्यालयले आफ्नै इतिहासमा अनेक चुनौतीहरू सामना गर्‍यो स्रोतसाधनको अपुरोपन,भौतिक संरचनाको अभाब, ग्रामीण परिवेशका बाधा अड्चन लगाएत अनेक चुनौती तर ती सबै कठिनाइका बीच पनि भानुभक्त निरन्तर प्रगतितर्फ उन्मुख रह्यो। यसको मूल कारण— यहाका शिक्षकहरूको समर्पण, विद्यार्थीहरूको अथक परिश्रम, अभिभावकको भरोसा र समुदायको अटल साथ नै हो। भानुभक्तको उन्नतिको यात्रा सामूहिक प्रयासको अनुकरणीय उदाहरण बनेर आज यो ठाउँमा उभिएको छ।

गत वर्षहरूमा भानुभक्तले प्राप्त गरेका उपलब्धिहरू केवल तथ्याङ्क वा प्रमाणपत्रमै सीमित छैनन्। यी उपलब्धिहरू प्रत्येक घर–परिवारका सपना, प्रत्येक शिक्षकका कर्तव्यप्रति समर्पण र प्रत्येक विद्यार्थीको रातदिनको मिहिनेतसँग जोडिएका छन्। यही कारणले भानुभक्त आज केवल विगतको स्मृति होइन; भविष्यको सम्भावना र आशाको स्थिर आधार पनि हो। आगामी दिनहरूमा आधुनिक प्रविधि, व्यावहारिक शिक्षा र मूल्यमा आधारित सिकाइलाई अझ मजबुत बनाउँदै, भानुभक्तले नयाँ पुस्ताका आवश्यकताअनुसार आफूलाई निरन्तर रुपान्तरण गरिरहने विश्वास म भित्रैबाट राख्दछु।

साथै विद्यालयले स्थानीय समुदायलाई जोड्ने एउटा महत्वपूर्ण पुलको काम पनि गरेको छ। कृषि, सरसफाइ, वातावरणीय संरक्षण, सामाजिक सचेतनाजस्ता कार्यक्रमहरूमा विद्यालय र समुदायको सहकार्य देखिनु भानुभक्तको व्यापक प्रभावको प्रमाण हो। गाउँ–टोलका हरेक गतिविधिमा विद्यालयको प्रत्यक्ष वा अप्रत्यक्ष सहभागिता रहँदा न केवल विद्यार्थीको अनुभव बढेको छ, समुदायको शैक्षिक दृष्टिकोण पनि लगातार उकासिएको छ। यसले विद्यालयलाई केवल शिक्षाको केन्द्र होइन, सामुदायिक विकासको अग्रस्थानमा स्थापित गरिदिएको छ।समयसँगै शिक्षणका चुनौती र आवश्यकताहरू पनि बदलिँदै गए, तर भानुभक्तले हरेक परिवर्तनलाई सकारात्मक रूपमा आत्मसात् गर्न सकेको देखिन्छ।

आज विद्यालयको स्वर्ण महोत्सवका अवसरमा भानुभक्तको ५० वर्षे यात्रातिर दृष्टि फर्काउँदा—यी कक्षाहरूले जन्माएका असंख्य सपना, यी पर्खालहरूले सुनेका संघर्षका कथा, र यी आँगनहरूले देखेका हजारौँ उज्याला अनुहारहरू सम्झिँदा मनमा श्रद्धा र गर्वको शीतल छायाँ बनेर फैलिन्छ। भानुभक्त, तिमी ज्ञानको मठ मात्र होइनौ—समुदायको गौरव, भविष्यको आधारस्तम्भ र प्रेरणाको अखण्ड स्रोत हौ। मेरो लागि भानुभक्त पेशाको थलो मात्र होइन,आत्मगौरवको उन्मेष हो, भावनाको आश्रय हो,र एक शिक्षकको मनभित्रको निरन्तर प्रेरणा हो।

स्वर्ण महोत्सवको यस ऐतिहासिक क्षणमा भानुभक्त परिवारका विद्यार्थी, शिक्षक, अभिभावक र समुदायसबैप्रति हार्दिक सम्मान व्यक्त गर्दछु। भानुभक्तको उज्यालो यात्रा यस्तै निरन्तर रहोस्, र यसले आगामी पुस्तामा पनि ज्ञान, संस्कार र सफलताको उजास फैलाइरोसोस्।

स्वर्ण महोत्सवको हार्दिक शुभकामना।
जय भानुभक्त।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

अन्य पोष्टहरू