मिति २०८० फाल्गुन ८ गते मङ्गलवार यस श्री भानुभक्त माध्यमिक विद्यालयमा शिक्षा प्रेमी खिम बहादुर खड्काको ८४ औ वर्ष प्रवेशको अवसरमा अक्षयकोष हस्तान्तरण तथा सम्मान कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवलाल खत्रीको अध्यक्षता, कृषि विशेषज्ञ घनश्याम गिरीको विशेष आतिथ्यता र शिक्षक दिनामणि पौडेलले सञ्चालन गर्नु भएको थियो ।
मलरानी – २ चुँजामा सामान्य परिवारमा जन्मेका खड्काको दुई वर्षमा बाबुको मृत्यु १३ वर्षमा आमाले अर्को बिहे गरेपछि बाल्य जीवन कष्टकर भएतापनि जीवनको उर्वर समय सकारात्मक चिन्तन र समाजसेवी सोचका कारण शिक्षा विकास र समाजसेवामा उहाँले सक्रिय रुपमा काम गर्दै आउनुभयो। २०४९ मा चुँजा गा.वि.स.को उपाध्यक्ष समेत बन्नुभएका खड्का आफ्नो क्षेत्रको बाटो निर्माण, विद्यालय, खानेपानी, वन संरक्षण, मन्दिर निर्माण लगायतका सामाजिक कार्यमा निरन्तर उल्लेखनीय योगदान गर्नुभयो । सामाजिक योगदान गर्ने इच्छाशक्ति भएमा ठूलो आम्दानीका स्रोतहरु नभएपनि भावी सन्ततिका लागि पठनपाठनमा असहाय विपन्न बालबालिकाहरुलाई शिक्षा आर्जनमा उत्प्रेरित गर्ने उद्देश्यले पूर्वी प्युठानका विद्यालयहरू भानुभक्त मा.वि बर्बोटमा स्व. हजुर बुवा र हजुर आमाको सम्झनामा “जंगविर खगा स्मृति छात्रवृत्ति अक्षयकोष” रु. १,८२,४८४ (एक लाख बयासी हजार चार सय चौरासी), अमर मा.वि चुँजामा स्व. बुवा मुम बहादुर खड्का र कर्म दिने आमा तुलसा खड्काको सम्झनामा “मुम बहादुर तुलसा स्मृति छात्रवृत्ति अक्षयकोष” रु. ५१,९८४ (एकाउन्न हजार नौ सय चौरासी), जनजागृति प्रा.वि. अर्भाङमा खड्काकी धर्मपत्नी स्व. मोति देवी खड्काको सम्झनामा “मोति देवी स्मृति छात्रवृत्ति अक्षयकोष” रु. ३१,२८४ (एकतीस हजार दुई सय चौरासी) र जनकल्याण प्रा.वि खन्ने खोलामा आमा स्व. अतिदेवी खड्काको सम्झनामा “अतिदेवी स्मृति छात्रवृत्ति अक्षयकोष” रु. ३१,२८४ (एकतीस हजार दुई सय चौरासी) गरी जम्मा रु. २,९६,३३६ (दुई लाख छयानब्बे हजार तीन सय छत्तीस) आफ्ना अग्रजहरूको स्मृतिमा छात्रवृत्ति अक्षयकोष स्थापना गर्नुभयो। भानुभक्त माध्यमिक विद्यालय परिवारले उहाँको उच्च योगदानको कदर गर्दै दीर्घायु सुस्वास्थ्यको कामनासहित सम्मान कार्यक्रम सम्पन्न भयो।
