यस श्री भानभुक्त माध्यमिक विद्यालयको स्थानीय शिक्षा प्रेमी समाज–सेवीहरुको सक्रियतामा गाउँको माझ पर्ने मैदान भन्ने ठाउँमा २०२२ सालमा स्थापना भएको भन्ने जानकारहरुबाट थाहा भएको छ । स्थानीय जनश्रमदानबाट भवन निर्माण गरी खुपिराम शर्मा, डिल्लीराज उपाध्याय (काइला पण्डित) र माथवरसिंह राना (हलकरा) तीन जनाले पठनपाठन सुरु गर्नु भएको थियो । विद्यालय संचालन र भौतिक निमार्णका लागि नगद र अन्न संकलन गरिएको थियो । विद्यालयका लागि चन्दा संकलन तथा रेखदेख गर्न हरिप्रसाद उपाध्याय, हिरा वहादुर के.सी (राम्चे) दुई जना पञ्च सदस्यको अलग–अलग चन्दा संकलन समिति बनाइएको थियो । तत्कालीन समयमा विद्यालय निर्माण, शिक्षकहरुको व्यवस्थापन गर्न विशेष योगदान दिनेहरुमा डिल्लीराज उपाध्याय, शिवराज उपाध्याय (प्रहरी हेड कन्सटेवल), हरिप्रसाद उपाध्याय (भलाटाकुरा माईला), शिवराज शर्मा (कटेखर्क कान्छा), श्यामलाल शर्मा (सन्नादिप साइला), टेकवहादुर के.सी. (घाउडा माईला), आदि हुनुहुन्थ्यो । पाठन–पाठन क,ख,ग… अंक र जोड घटाउ आदिमा सिमित थियो । पठन–पाठन गर्ने कार्यको लागि अर्को शिक्षक चुँजा पञ्चायत खरिन्डाडाका खिम बहादुर रानालाई थप शिक्षकको रुपमा ल्याइएको थियो । २०३१ सालतिर बासुदेब पौडेल, जगत पौडेल र बुद्धि सागर पौडेलले विद्यार्थीहरुबाट थोरै शुल्क लिएर पढाउदै हुनुहुन्थ्यो । त्यही सालमा निजिश्रोतबाट संचालित विद्यालयको गतिविधि बुझ्न अंचल शिक्षा कार्यालय दाङवाट आएको टोली अन्य गाउँतिर गएको थाहा भएपछि मैदान विद्यालयमा उक्त टोली नपसेकाले विद्यालयका मासिक प्रतिवेदन र अन्य विवरणहरु तयार गरी शिवराज शर्मा, शिवराज उपाध्याय र श्यामलाल शर्र्मा समेतका व्यक्तिहरु प्यूठानको तिराम पुगी टोलीलाई भेटी विद्यालय सञ्चालनका लागि अनुरोध गरेपछि २०३२।८।२९ मा यो विद्यालयको १-३ कक्षा स्वीकृत भएको थियो । स्वीकृत भइ दुई जना शिक्षकको दरवन्दी कायम भई हालको मल्लरानी गाउँपालिका वडा नं. ३ र (साविकको धरमपानी वडा नं. ९) वर्बोट मैदानमा संचालित विद्यालयमा वेदराज शर्मा र टकविर राना (खरिन्डाँडा) ले सरकारी अनुदान पाउने गरी २०३२ सालमा जिल्ला शिक्षा कार्यालयबाट नियुक्ति पाएपछि विद्यालयमा वैधानिक रुपमा पठन-पाठन अगाडि बढेको थियो ।
प्यूठानमा आधुनिक शिक्षाको प्रभावकारी कदम २०३२ साल देखि लागु भएको थियो । जसको प्रभावले विद्यालय खोल्ने, व्यवस्थित गर्ने चिन्तनहरु जन्मिए । यसै क्रममा तत्कालीन शिक्षा प्रेमी र वुद्धिजीवीहरु खगेश्वर उपाध्याय, श्यालाल शर्मा, लंकवहादुर के. सी., हरिप्रसाद उपाध्याय, टकवीर राना, शिवराज शर्मा, टेकवहादुर के.सी. लगायतका अन्य भद्र भलादमीहरुको सक्रियतामा चुँजामा स्थापना भएर संचालन हुन नसकी तत्कालीन चुँजा पञ्चायतको चुँदरी खोलामा लगिए पनि संचालन हुने अवस्थामा नभएको नि.मा.वि तह र मैदानमा स्थापना भएको प्रा.वि तह समायोजन गरी बर्बोट अर्गेली हाल विद्यालय रहेको स्थानमा निम्न माध्यामिक विद्यालय स्थापना गर्ने योजना बन्यो । जस अनुसार २०३४ सालमा जनश्रमदान र रस्पुरकोट चौरपानीमा रहेको अमर मा.वि संचालन हुन नसक्ने अवस्थामा पुगेकाले त्यस विद्यालयका झ्याल ढोका र अन्य सामग्री ल्याइ ८ कोठे भवन निर्माण गरी उक्त दुवै तहलाई स्थानान्तरण गरी हाल भानुभक्त मा.वि रहेको ठाउँमा निम्न माध्यामिक विद्यालय स्थापना भएको थियो ।
समयको परिवर्तन संगै शिक्षाको आवश्यकता महशुस गरी बुद्ध वहादुर जि.सी, बोम वहादुर खत्री, खगेश्वर उपाध्याय, हरिप्रसाद उपाध्यााय, टकवीर राना, प्र.अ विण्णु प्रशाद पौडेल लगाएतका स्थानीय शिक्षा सरोकारवालाको नेतृत्वमा र आम जनसमुदायको सक्रिय सहयोगमा २०४८ सालमा नि. मा. वि तहलाई मा.वि तहमा विस्तार गरियो । २०४८ सालमा निजीश्रोतवाट संचालित यस विद्यालयले २०५२ सालमा मा.वि तहको स्वीकृति प्राप्त गरेपछि जिल्लाकै एक उत्कृष्ट माध्यमिक विद्यालयको रुपमा संचालन भयो । समय क्रमअनुसार सर्वसुलभ रुपमा स्थानीय रुपमै उ.मा.वि तहको शिक्षाको आवश्यकता महसुस हुन थालेपछि २०६३ श्रावणमा स्थानीय समाजसेवी र शिक्षाप्रेमीहरु बोमवहादुर खत्री, केशरवहादुर अधिकारी, चक्रपाणि पौडेल, अमरध्वज राना, विष्णु प्रसाद पौडेल, दिनामणि पौडेल र गीरवहादर पौडेलको आपसी छलफल र सक्रियतामा तत्कालीन व्यवस्थापन समितिद्वारा २०६३ भाद्र २९ गते यस पूर्वी प्यूठान चुँजा, धरमपानी, विजुली, रसपुरकोट र अर्घाखाँची जिल्लाको ढाकावाङ्का अभिभावक, उद्योगी, व्यापारी, वुद्धिजिवी शिक्षक, कर्मचारीहरुको आम भेलाकोे आयोजना गरियो । उक्त भेला शैक्षिक शत्र २०६४ देखि विद्यालयलाई स्तरोन्नति गरी उच्च मा.वि तह संचालन गर्ने, उक्त संचालनका लागि पूर्वाधार तयार गर्न वोम वहादुर खत्रीको संयोजकत्वमा उच्च मा.वि पूर्वाधार तयारी समिति गठन गरी उ.मा.वि संचालनार्थ आर्थिक सहयोग संकलन र सम्बन्धन प्रक्रिया अगाडि वढाइयो । साथै लक्षित कार्यक्रम सञ्चालानका लागि विभिन्न संघ–संस्था, शिक्षाप्रेमी उद्योगी, व्यापारी, शिक्षक, कर्मचारी, निवृत्त व्यक्तिहरुवाट सहयोगस्वरुप करीब रु. १२,००,०००।- आर्थिक संकलन गरी २०६४ देखि उच्च मा.वि. सञ्चालन गरियो ।
नेपाल सरकार शिक्षा मन्त्रालय शिक्षा विभागवाट अनुदान दिनेगरी शै.स २०७० बाट ७५ वटै जिल्लामा १०० ओटा प्राविधिक धारका विद्यालय सञ्चालन गर्ने निर्णय अनुसार प्युठान जिल्लाको एकमात्र यस विद्यालयमा २०७० साल वैशाख १३ गते देखि कृषि अन्तरगत बाली विज्ञान विषयका सम्वन्धन भएपछि कक्षा ९ वाट अध्यापन प्रारम्भ भइ हाल ९–१२ कक्षा सञ्चालन भइरहेको छ । हालसम्म उक्त प्राविधिक धार अन्तरगत ३ समूहले न्यून लगानीमा १२ कक्षा पुरा गरी वाली विज्ञान विषयमा मध्यमस्तरीय जनशक्तिले ९व्त्रव्त्ब्० रोजगारी पाउन सफल भएका छन भने केही उच्च शिक्षामा अध्ययनरत छन ।
