विपन्न, असहाय परिवार र दुर्गम ग्रामीण बस्तीमा जन्मेर पनि लामो समय सामाजिक, राजनैतिक र शैक्षिक क्षेत्रको विकासमा निरन्तर अथक प्रयासरत रही महत्वपूर्ण योगदान पुर्याउनु हुने व्यक्तित्वको नाम हो खिमबहादुर खड़का ।
प्यूठान जिल्ला साविक चुँजा – ८ हाल मल्लरानी गा.पा. २ मा वि.सं. १९९७ चैत्र २४ चैत्राष्टमीका दिन विहान माईला बुबा केहरसिंह खड्काको २४ वर्षको उमेरमा निधन भएकै दिन शोकको घडीमा बेलुका खिमबहादुर खड्काको जन्म भएको हो । बुबा मुम बहादुर खड्काका दुई श्रीमती जेठी जन्म दिने जामा अतिदेवी खड्का र अर्को पालनपोषण गर्ने ज्ञामा तुलसा खड्का हुनु हुन्थ्यो । उहाँ २ वर्षको हुँदा उहाँको भाइको मृत्यु भयो र त्यो पीडाको घाउ निको नहुँदै वि.सं. १९९९ पौष ५ गते बुबाको निधन भएकाले अनुहार सम्झन पाउनु भएन । उमेरमै विधवा भएकी अति देवीले वि.स. २०१० सालमा अर्को विबाह गरी १३ वर्षे नाबालक खड्कालाई छोडेर जानु भयो । खड्का मातृपितृ बिहीन बन्नु भयो । उहाँको लालन पालन आमा तुलसा खड्का, बाजे जङगवीर खड्का र कान्छा बुवा प्रेम बहादुर खड्काबाट भयो ।
त्यति बेला विद्यालय शिक्षा शुरु भएको थिएन । चुँजाको केही सचेत व्यक्तिहरुको पहलमा प्यूठान भित्रीकोटका एकजना गुरुलाई बोलाएर गुरुकुल शिक्षा शुरु गरिएकाले खड्काले वि.सं. २००५ सालदेखि गुरुकूल शिक्षामा कखरा, बाइखरी र गणितका सामान्य जोड घटाउ सिक्ने अवसर पाउनु भयो ।
मातृपितृ विहीन खिम बहादुर खड्कालाई घर-व्यवहार सम्हाल्न गाह्रो भएकाले १६ वर्षको उमेरमा वि.सं. २०१३ फागुन १६ गते वाङ्गेमरोठ निवासी टुकमान जि.सी. की छोरी मोती देवी खड्कासंग बिबाह बन्धनमा बाँधिनु भयो । दुःखद र मातृपितृ स्नेहको अभावमा गुञ्जिएको वाल्यावस्थाका कारण उहाँमा कम उमेरमै सहयोगी भावना, सामाजिक र शैक्षिक विकासको सोंच र चिन्तन पलायो ।
हाल उहाँ ८४ वर्षमा प्रवेश गर्दै हुनु हुन्छ । यो अवधि मध्ये करिव ६५-६६ वर्षको उर्वर जीवन सामाजिक, शैक्षिक, राजनैतिक क्षेत्र, विद्यालय, खानेपानी, बाटो निर्माण, वन संरक्षण र सामाजिक, न्याय ज्ञादि कार्यसंग सम्बन्धित संघ संस्थाको नेतृत्वमा सक्रियताका साथ बित्यो । उहाँले वि.सं. २०१८ सालमा चूँजामा स्थापना भएको खड्गेश्वरी प्रा. वि. भवन निर्माण, सञ्चालन र पछि सोही विद्यालय परिवर्तित नाम हाल अमर मा.वि. मल्लरानी-२ लाई स्तरोन्नति गर्दै संस्थापक वि.व्य.स. अध्यक्ष, निर्माण समिति अध्यक्ष र सदस्य रहेर ३० वर्षसम्म निरन्तर सक्रिय योगदान गर्नु भएको थियो । यसै गरी २०३४ सालमा स्थापित भानुभक्त मा. वि. मल्लरानी – ३ बर्बोटका संस्थापक सदस्य, २०४८ सालमा विद्यालय मा.वि. तहमा स्तर उन्नति गर्ने कार्यमा सक्रिय हुँदै २०५९ असार २८ गते देखि २०६८ असोज ८ गते सम्म तीन कार्यकाल वि.व्य.स. सदस्य रही भवन निर्माण तथा स्तरोन्नतिमा उच्च योगदान दिनु भएको थियो । वि.सं. २०६३ मा स्थापित जनजागृति प्रा. वि. मल्लरानी – १ अर्भाङका संस्थापक सदस्य, जनकल्याण प्रा. वि. मल्लरानी – २ खन्नीखोलामा वि.व्य.स. सदस्य रही हालसम्म उक्त विद्यालयहरु सञ्चालनमा श्रोत व्यवस्थापन र भौतिक निर्माणमा योगदान गर्दै आउनु भएको छ ।
बाटी निर्माणमा विशेष चासो राख्दै २०२३ सालदेखि शुरु भएको भालुबाड – प्यूठान र विजुवार – खलंगा मोटर बाटो निर्माणमा चुँजा पञ्चायतबाट महिनौ जनश्रम परिचालन गर्ने कार्यमा निरन्तर अगुवाई गर्नु भएको थियो भने २०४९ मा चुँजा गा.वि.स. उपाध्यक्ष निर्वाचित भएपछि खलंगा – चुजाठाँटी, चुजाठाँटी – राजिमे, चुँजाठाँटी – कुँडारा – बान्ना, मुन्डाँडा – चुँजा र खरिबोट – सोल्हाल्ना गोयल्छेडी बाटाहरुलाई प्राथमिकतामा राखेर बजेट माग, जनपरिचालन गरी ट्रयाक खोल्ने, स्तरोन्नति गर्ने कार्यमा निरन्तर उल्लेखनीय भूमिका निर्वाह गर्नु भएको थियो ।
समाजसेवी चिमवहादुर खड्का भुल्के – अर्भाङ – चुँजा खा. पा. निर्माण, खड्काठाँटी निर्माण, खन्नीखोला आर्यघाट प्रतिक्षालय निर्माण, वुटवल पावर कम्पनीद्वारा सञ्चालित विद्युत वितरण व्यवस्थापन, चुँजा पालुकाथान वन व्यवस्थापन समितिको अध्यक्षमा रही पालुकाथान मन्दिर निर्माण तथा चुँजाकोट व्यवस्थापन समितिको अध्यक्ष लगायत करिव दर्जन भन्दा बढी उपभोक्ता समितिको अध्यक्ष पदमा रही विकास निर्माण कार्य सम्पन्न गर्नु भएको छ । धरमपानी स्वास्थ्य चौकी चुंजाठाँटीको स्थापना, जग्गा व्यवस्थापन लगायतका कार्यमा समेत उहाँको योगदान थियो । २०२२ साल देखि २०३५ सालसम्म चुँजा पञ्चायतको सचिव रहेर प्रशासनिक दक्षता हासिल गर्दै २०३५ सालमा तत्कालीन किसान संघ जिल्ला कार्य समिति प्यूठानको उप-सभापति पदमा निर्वाचित भई त्यस बेलाका किसानहरुका समस्या नजिकबाट नियाल्ने र समाधानमा प्रयासरत रहनु भएको थियो । आफूलाई सामाजिक राजनैतिक क्षेत्रप्रति क्रियाशील बन्न सामाजिक तथा राजनैतिक व्यक्तित्वहरु स्व. खगेश्वर उपाध्याय, जङ्गवीर राना मगर, विरबहादुर राहुँ मगर, टकवीर राना मगर लगायतबाट साथ सहयोग र प्रेरणा पाएको उहाँले बताउनु हुन्छ ।
८४ वर्ष पुग्दै गरेका उहाँका ३ छोरा र २ छोरी हुनु हुन्छ भने श्रीमती मोती देवी खड्काको २०६३ सालमा निधन भएको थियो । बाल्य जीवन ज्ञाँधी हुरी र बज्रपातबाट शुरु भएर संर्घषबाट अघि बढ्दै सधै हसिलो र खुसी अनुहार, सकारात्मक चिन्तन, धैर्यता, गम्भीर घटनामा पनि विचलित नहुने लगायतका क्षमता र अनुकरणीय व्यवहार उहाँबाट सिक्न लायक छन् । हाल उहाँ मल्लरानी गाउँपालिका वडा नं. २ चुँजाका जेष्ठ नागरीक सञ्जालका अध्यक्ष हुनुहुन्छ ।
